
डोटी : किशोर किशोरीका लागि जीवनोपयोगी सीप तथा जीवनवृत परामर्श सम्बन्धी दुई दिने तालिम सिलगढीमा सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्रद्वारा कार्यान्वयन भइरहेको सामुदायिक विकास परियोजना अन्तरगत तालिमको आयोजना गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजित अधिकृत छत्र बडैलाका अनुसार तालिमका क्रममा किशोर किशोरीहरूलाई जीवन उपयोगी सिपको विकास, मिडिया साक्षरता, नेतृत्व विकास, भविष्यको लक्ष्य निर्धारण, भावना र तनावको व्यवस्थापन, जीवन चक्र, यौन तथा प्रजनन स्वास्थ्य, सकारात्मक सोचको विकास लगायतका विषयमा तालिम दिइएको थियो ।

तालिममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सीँ खड्कालाई नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षकका रूपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूर्य विष्ट, डोटी बहुमुखी क्याम्पका क्याम्पस प्रमुख दिलानन्द जोशी, दिपायल सिलगढी नगरपालिकाका रमेश जोशी लगायतका थिए ।
बाल स्पोन्सरसिप कार्यक्रम अन्तरगत यो वर्ष १८ वर्ष पुग्दै गरेका डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडा र पूर्वीचौकी गाउँपालिका ७ पोखरीका २३ जना किशोर किशोरीहरूको सहभागिता रहेको थियो ।
