
डोटी : समान कामको समान ज्यालाको माग गर्दै डोटीको पिपल्ला बजारमा र्याली निकालिएको छ । दिपायल सिलगढी नगरपालिका-४ राजपुरमा रहेको श्रमिक महिला सञ्जालको आयोजनामा विभिन्न नारा सहित र्याली निकालिएको हो ।
र्यालीमा सहभागीहरूले अनौपचारिक क्षेत्रमा काम गर्दा प्रयोग गरिने औजारहरूको चित्र आफ्नो अनुहारमा कोर्दै न्यायको माग गरेका छन् । समान कामको समान ज्यालाका विषयमा सरोकारवालाको ध्यानाकर्षण गर्न र्याली प्रदर्शन गरिएको सम विकास केन्द्रका कार्यक्रम अधिकृत रमा भण्डारीले बताइन । सम विकास केन्द्र नेपालले विगत ४/५ वर्ष देखि श्रमिकहरूको हक अधिकारको लागि श्रम क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेदहरूको अन्त्य गर्नको लागि अभियानहरू गर्ने क्रममा सोमबार र्याली प्रदर्शन गरिएको अधिकृत भण्डारीले बताइन् ।

अन्याय कहिले सम्म सहेर बस्छौ जहिले सम्म, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको हक अधिकार र सुरक्षाका लागि हाम्रो अभियान निरन्तर रहने छ, लैङ्गिकताको आधारमा ज्यालामा विभेद गर्न पाइँदैन लगायतका नारा प्रदर्शनको क्रममा लगाइएका थिए । समान तथा न्यायोचित ज्याला, कार्य स्थलमा सुरक्षा, श्रमिक बिमा र श्रमिक पञ्जिकरण उनीहरूका प्रमुख माग रहेका छन् ।
सम विकास केन्द्र नेपाल र एक्सन एड नेपालको सहकार्यमा सञ्चालित द महिला नेटवर्क परियोजनाद्वारा डोटीमा लामो समयदेखि श्रमिकहरूको हक अधिकारको लागि अभियान सञ्चालन भइरहेका छन् ।
