
धनगढी : डोटीका दुई वडा अध्यक्ष धनगढीमा जुवा खालबाट पक्राउ परेका छन् । मङ्गलवार धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको कलेल होटलबाट दुई वडा अध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका हुन् । एक लाख चार हजार आठ सय १० रुपैयाँसहित डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला र सोही गाउँपालिकाको वडा नम्बर ५ काडामाण्डौँका वडा अध्यक्ष खडक साउद पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष ठकुल्ला र साउद, होटेल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् । यस्तै गोदावरी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय कुवेर खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का अविनाश कठायत पक्राउ परेका चन्दले बताएका छन् ।
जुवा खालबाट पक्राउ परेका उनीहरूले प्रहरीलाई समेत गलत पहिचान दिएको पाइएको छ । वडा अध्यक्ष साउदले आफ्नो ठेगाना पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ भनेका थिए भने अर्का वडा अध्यक्ष ठकुल्लाले आफ्नो नाम योगेन्द्र खड्का भनेका थिए । यस्तै सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी खड्काले आफ्नो घर डोटीको विपीनगर बताएका थिए ।
