सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार)  मनाइदै ,

सीता महता

Sayalb

डोटी सहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन डोटेली समुदायले सद्भाव बाँड्ने चलन रहेको छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) बाँड्ने चलन पनि रहेको छ ।साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्बहरु सुरु भएको मानिन्छ ।

विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने   सल्ला तथा पिपलका हागामा पीङ हालेर खेल्ने   नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा राक्षसी प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएका छन  ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु ग्वालाहरु ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको जानकारहरुको भनाइ छ

Shaileshwori
Loading...