
अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा एभोकाडो खेती विस्तार को लागि कृषकको प्रत्येक घरमा एक घर दुई बिरुवा निःशुल्क वितरण गर्ने अभियान आइतबार देखि सुरु गरेको छ ।
मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखको सुयडिमा नर्सरी उत्पादन गरी एभोकाडो बिरुवा कृषकको घरमै पुगेर निःशुल्क वितरण गर्ने अभियान सुरु गरेको हो ।
सोही क्रममा पालिकाको वडा न. ८ हात्तिकोटका २७२ जना कृषकलाई ५४४ वटा एभोकाडो बिरुवा निःशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले बत्ताएका छन् ।
पहिलो चरण वडा न. ८ हात्तिकोट वडा न.५ बिन्धेवासनी,वडा न. ४ कुस्कोटमा वितरण गरिने जनाएको छ ।
क्रमशः पालिकाको सबै वडामा एभोकाडो बिरुवा विस्तारको लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ ।
नेपालीमा घिउ फल भनिने एभोकाडो मेल्लेखमा कृषि विकास शाखाले बिउ खरिद गरी पोलिव्यगमा नर्सरी उत्पादन गरेको थियो ।
एभोकाडो हर दृष्टिले महत्त्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाइदा धेरै हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि अदुवा, खुर्सानी, बेसार, जडीबुटीलगायतको खेती गर्न सकिन्छ ।

एभोकाडो वातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालु एडेड चिजहरू बन्छ ।
एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने भएको छ ।
यो बालीले नयाँ प्राविधिक उत्पादनको आह्वान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताउनुभयो ।
एभोकाडो मेल्लेख गाउँपालिका को लागि नयाँ फल भएकोले यो फलको महत्त्व धेरै भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी गराउनु भएको छ ।
एभोकाडोको व्यावसायिक खेतीका लागि मेल्लेख गाउँपालिका कृषि प्राविधिक लोकेन्द्र साउद प्रेम बहादुर बुढा सुमन चौधरी लगायतको टोली कृषकको टोल टोलमै पुगेर एभोकाडो वितरणका साथै सहजीकरण गरिरहनु भएको छ ।
