

भदौ २८, डोटी
डोटीमा घुससहित एक जना वन अधिकृत पक्राउ परेका छन् । सब डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. ५ हजार घुस सहित बिहिवार पक्राउ परेका हुन् ।
स्थानीय दाउरा व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीयले अधिकृत गिरीलाई रङ्गे हात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अधिकृत गिरिले यसअघि पनि दाउरा व्यवसायीबाट रु. १० हजार लिएको खुलेको छ । स्थानीय जयानन्द ओझाको लालपुर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी सङ्कलित दाउराको निकासीका लागि अधिकृत गिरीले १० हजार अगाडी नै लिइसकेको व्यवसायी भण्डारीले बताए । सबै कर्मचारीलाई मिलाउने बहानामा थप रु. ५ हजार लिने क्रममा गरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नरभान साउँदले गिरीलाई नियन्त्रणमा लिइएको र विस्तृत अनुसन्धानका लागि आवश्यक सोधपुछ भइरहेको बताएका छन् ।
