नेपाल मल्दिभ्ससँग १ सय ३८ रनले विजयी, अभिनाशले लिए ६ विकेट

काठमाडौँ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ । माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाइ अलआउट हुन पुग्यो । माल्दिभ्सलाइ ७४ रनमा समेट्न नेपालका फास्ट बलर अभिनाश बोहराले ६ विकेट लिए । अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।

Sayalb

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

नेपालले अब क्वाटर फाइनलमा भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटर फाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटर फाइनल पुग्नेछन् ।

Shaileshwori
Loading...