
काठमाडौँ । विवेक ओझाको ‘ऐँठन’ कृतिले मदन पुरस्कार पाउने भएको छ । हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत मदन पुरस्कार गुठीले यसको वर्षको पुरस्कार ‘ऐँठन’ लाई दिने निर्णय गरेको हो ।
मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले २०७९ मा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित उपन्यास ऐँठनलाई पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । उपन्यास ऐँठन पुस्तकले विगतमा नेपाल राष्ट्र एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न लेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोग गरेको भन्दै सो कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

मदन पुरस्कारको राशि चार लाख रुपैयाँ छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए । यस प्रयोजनका लागि गुठीमा ३१३ पुस्तकमध्येबाट पाँच पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । त्यसमा परेका पुस्तकमा इजोरिया (सुविन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) रहेका थिए ।
यसै गरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । जगदम्बा श्री को पुरस्कार राशि पनि चार लाख रुपैयाँ रहेको छ ।
