
इजरायलबाट थप एक बिद्यार्थीको शव नेपाल ल्याइएको छ । हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार नेपाल ल्याइएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको उनले बताए । साथै बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र चाडै नेपाल ल्याउने उनले बताए ।

यसअघि दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइएको थियो ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए । आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।
कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।
