मङ्सिर १५, डोटी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार कसको नीतिमा चलेको छ भन्दै प्रश्न गरेका छन् । नेकपा एमालेले बिहीबारबाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को दोस्रो दिन शुक्रवार डोटीको सिलगढीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो प्रश्न गरेका हुन् ।
‘‘माओवादीले काँग्रेस बोकेर क्रान्ति गर्ने, ढकिया बोकेर क्रान्ति गर्ने अनि माओवादीलाई काँधमा बोकेर काँग्रेसले लोकतन्त्र ल्याउने, अध्यक्ष ओलीले भने, खोइ उहाँहरूको नीति के हो ? कसको नीतिमा चल्दै छ अहिलेको सरकार ? प्रचण्डको नीतिमा की शेरबहादुरको नीतिमा, की माधवको नीतिमा ?’’ वर्तमान सरकार मन्त्री हुने, भ्रष्टाचार गर्ने, अराजकतालाई नजानिँदो तरिकाले संरक्षण गर्ने नीतिमा चलेको ओलीले बताए ।
ओलीले वर्तमान सरकार धेरै बेर नचल्ने बताएका छन् । ‘यो सरकार त आफै मक्एिको सरकार हो, धोद्रा परेको सरकार हो, ओलीले भने, यो सरकार आफै चल्ने वाला छैन, टिक्ने वाला छैन त्यसपछि हामी बन्दोबस्त गर्ने छौँ ।’ जसका लागि उनले एमालेका कार्यकर्तालाई आपसमा द्वन्द्व नगरी एकता कायम गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले पार्टी सिद्ध्याउन विभिन्न षड्यन्त्र भएको भए पनि कार्यकर्ताले जगाएको बताए । ‘प्रचण्ड षड्यन्त्र भए, माकुने षड्यन्त्र भए, अरू षड्यन्त्रहरू भए तर ती सबै षड्यन्त्रहरूलाई पराजित गरेर पाटी जोगाउनु भएको छ, उनले भने, फेरी पार्टी पहिलेकै ठाउँमा आएको छ, देशी विदेशी शक्ति लागेर अनेक षड्यन्त्रको चक्र ब्यु रचेर सिद्ध्याउन खोज्दा पार्टी सिद्धिएन म तपाईँलाई धन्यवाद दिन चाहन्छु ।’ हिजोका दिनमा पार्टीमा भएका गतिविधिबाट पाठ सिकेको उनले बताए ।