
रामहरि ओझा २३ पुस, डोटी
बाेगटान फुड्सिल गाउँपालिका वडा नं १ ले सञ्चालन गरेको “ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत दुई सय १४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारी पुस ११ गतेदेखि सञ्चालन भएको कार्यक्रम आइतबारसम्म चलेको वडाध्यक्ष खेमबहादुर घर्तीले जानकारी दिए । “टोल टोलमा गएर ज्येष्ठ नागरिकहरूका समस्याहरू बुझ्नका लागि यो अभियान सञ्चालन गरिएको हो’ वडाध्यक्ष घर्तीले भने “यस अन्तर्गत उनीहरूको स्वास्थ्य उपचार र सम्मान गरिएको थियो ।’ अभियानका क्रममा एक सय ५२ महिला र ६२ स्वास्थ्य परीक्षण भएको सिम चौ र स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण साउँदले जानकारी दिए । साउँदका अनुसार ४९ जनालाई स्लाइन चढाइएको थियो ।

२६ जनामा नसर्ने रोगको परिचाहन भएको, १२ जटिल रोगको पहिचान भएको र रिफर ११ जनालाई रिफर गरिएको साउँदले जानकारी दिए । ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको रक्तचाप परीक्षण, सुगर परीक्षण, पिसाब परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श दिइएको साउँदले जानकारी दिए । यस अभियानबाट ज्येष्ठ नागरिकका समस्याका विषयमा धेरै जानकारी भएको वडाध्यक्ष घर्तीले बताए । उनले यस अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिइने पनि बताए ।
वडा नं १ ले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम फलदायी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला बताउँछन् । ‘यो अभियानले ज्येष्ठ नागरिकहरूलाई निकै राहत पुगेको मैले महसुस गरेको छु’ अध्यक्ष गड्सिलाले भने ‘अन्य वडामा पनि सञ्चालन गर्नु पर्ने देखिन्छ ।’
