डोटीमा जारी अर्थोपेडिक सर्जिकल शिविरमा विदेशी डाक्टरले समेत सेवा दिँदै
दुई दिनमै ८ सय जनाले लिए सेवा

फागुन ०८, डोटी ।
जिल्ला अस्पताल डोटीमा जारी पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरमा विदेशी डाक्टरले पनि सेवा दिन थालेका छन् । शिविरको तेस्रो दिन आज बाट विदेशी डाक्टर हेन सर्जन क्याट्रिन हेगनले सेवा दिन थालेकी हुन् । शिविरको आर्थिक सहयोगदाता मेड–सोलुसन फाउन्डेसन स्वीजरल्याण्ड संस्थाकी डा. हेगनलाई अस्पतालले औपचारिक स्वागत गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष धन बहादुर नेपालीले बताए ।
डा. हेगनले शिविर अवधिभर यहाँका नागरिकलाई सेवा दिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डलले बताए । भूगर्भविद् टोनि हेगनकी छोरी डाक्टर हेगनबाट सेवा पाउनु डोटेली नागरिकको लागि खुसीको कुरा भएको डाक्टर मण्डलले बताए ।

आइतबार बाट सुरु भएको निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरमा सेवा लिनेको सङ्ख्या उल्लेख्य पाइएको छ । आइतबार र सोमबार दुई दिनमै ८ सय जनाले सेवा लिएको जिल्ला अस्पताल डोटीका डाक्टर निराजन श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार पहिलो दिन पाँच जना र दोस्रो दिन १८ जना गरी २३ जनाको शल्यक्रिया गरिएको छ ।
शिविरमा करिब १३ सय जना जनरल बिरामी हेर्ने लक्ष्य राखिएको मा त्यो सङ्ख्या बढ्ने देखिएको छ । शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, भाँचिएर बाङ्गिएर जोडिएका बिरामीको उपचार भइरहेको छ । साथै रड, पाता वा किला निकाल्ने, आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने लगायतका सेवाहरू पनि प्रदान भइरहेका छन् ।

