
फागुन २९, कैलाली
कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा आवतजावत बन्द भएको छ । सोमबार अपराह्न बा.५ प ५२९७ नम्बरको ट्रकमा गुड्दागुड्दै आगलागी हुँदा पुलमा पनि क्षति भएपछि सवारीसाधन आवतजावत बन्द गरिएको हो । वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर आउँदै गरेको ट्रकमा भएको आगलागीले पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए ।

आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पनि नष्ट भएको छ । चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा आएको थियो । कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले पुलका लठ्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । प्रहरीका अनुसार त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।
पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबार घटनास्थल जाँदै छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले लठ्ठा जल्दा पुलको लोड क्षमता घटेको हुन सक्ने भएकाले सवारी आवागमन बन्द गरिएको र विभागको प्राविधिक टोलीले जाँच गरेपछि थप निर्णय लिइने बताए ।
