
चैत २१, डोटी
आदर्श गाउँपालिका वडा नम्बर २ मा नागरिक आरोग्य अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल अन्तर्गतको नागरिक आरोग्य सेवा केन्द्र आदर्श गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीले जनस्वास्थ्यको विकराल समस्याको रूपमा देखा पर्न थालेका नसर्ने रोगहरूको पहिचान र समयमै व्यवस्थापन गर्न आवश्यक रहेको बताए । जोशीले भान्सामा दैनिक प्रयोग हुने मसलाजन्य वस्तुहरूलाई स्वस्थ तथा सन्तुलित किसिमले स्वास्थ्य रक्षार्थ प्रयोग गर्ने तरिकाको बारेमा सहभागीहरूलाई जानकारी दिए । कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका रोगहरूको पहिचान तथा चेकजाँच समेत गरिएको थियो ।
विभिन्न प्रकारको औषधि सबैको भान्सामै भए पनि पहिचान गर्न नसक्दा मानिसले समस्या खेपिरहेको मौवा नगरदह स्वास्थ्य चौकी प्रमुख दीपकराज ओझाले बताए । उनले अबका दिनमा भान्सामा प्रयोग हुने मसालाहरूलाई सही तरिकाले प्रयोग गरी स्वस्थ रहनु पर्ने बताए । कार्यक्रममा सिकेका कुराहरू व्यवहारमा लागू गरी स्वस्थ जीवनशैली अपनाउने कार्यक्रमका सहभागी स्वयमसेविकाहरुले बताएका छन् । कार्यक्रम आदर्श गाउँपालिकाका सबै वडाहरूमा सञ्चालन गरिने नागरिक आरोग्य सेवा केन्द्र आदर्शका प्रमुख वैद्य निर्मला भट्ट जोशीले जानकारी दिइन् ।

