
इलाम र बझाङमा उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले कानुनबमोजिम इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगका अनुसार संघ, प्रदेश र स्थानीय सरकार, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ ।
आयोगले आचारसंहिता कार्यान्वयनका लागि उपनिर्वाचनमा सहभागी दल, उम्मेदवार तथा भ्रातृ संगठनको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । यसका लागि समितिले अनुगमन अधिकृत खटाउनेछ भने सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिन सक्नेछ । सीमाभन्दा बढी खर्च गरे तत्काल कारबाही गर्न भनिएको छ । जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय पनि सूक्ष्म निगरानीमा राख्न र आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारबाही प्रारम्भ गर्ने भनिएको छ ।
