बैतडीः बैतडीमा आफ्नै भतिजीको हत्या गर्ने काका पक्राउ परेका छन्।जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजीमाथि जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका हुन्। १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केशीले बताए।
मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई नियन्त्रण लिएको उनले बताए। पुर्चौडी नगरपालिका–४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन्। तीन दिनदेखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट काका नाता पर्ने ती युवकले धाकधम्की दिएर पटकपट जबरजस्ती करणी गरेर किशोरी गर्भवती भएको समेत खुलेको छ। डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ। गर्भपतन गर्न नमानेपछि जंगलमा लगेर हत्या गरेको खुलेको हो।