
जेठ १, डोटी
बोगटान फुड्सिल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सोमबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । ० देखी १५ महिना सम्मका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएअनुसार बोगटान फुड्सिल गाउँपालिकालाई घोषणा गरिएको हो ।
गाउँपालिकाका लक्षित वर्गका ९ सय ३० जना बालबालिकालाई नियमित खोप कार्यक्रम तथा अभियान मार्फत खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक पारस बोहराले बताए । पालिकाका २२ ओटा खोप केन्द्रबाट नियमित खोप लगाइँदै आएकोमा नियमित खोप कार्यक्रमबाट छुटेका २० जना बाल बालिकालाई खोप अभियानबाट खोप लगाइएको उनले बताए ।
खोप थोरै लगानीबाट धेरै प्रतिफल लिन सकिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका जन स्वास्थ्य निरीक्षक सुरज खड्काले बताए । बाल बालिकालाई लगाइएको खोपले उनीहरूमा भविष्यमा देखिने विभिन्न रोगहरूबाट बचाउने हुँदा खोप बालबालिकाको अधिकार रहेको खड्काले बताए । बालबालिकाको अधिकारको सुनिश्चित गर्दै खोपको दिगोपनामा पनि ध्यान दिनुपर्ने उनको भनाई थियो ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको र त्यही प्रकारको बजेट विनियोजन गर्ने गरेको गाउँपालिका उपाध्यक्ष बिष्ना देवी बमले बताइन् । स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्यकर्मीहरुले इमानदार भएर काम गर्नुपर्ने र पालिकाले सहयोग गर्ने उपाध्यक्ष बमले बताइन् । गाउँपालिकामा एचआइभी एड्सका बिरामी लुकेर बसेको सुनिन आएकोमा सबै जनाले उनीहरूको उपचारका लागि सहयोग गर्नुपर्ने उनले बताइन ।
स्वास्थ्य क्षेत्र अति नै संवेदनशील क्षेत्र रहेको पूर्ण खोप समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । स्वास्थ्यकर्मीको सानो गल्तीले पनि ठुलो समस्या निम्तिन सक्ने भएकाले स्वास्थ्यकर्मीले चनाखो भएर काम गर्नुपर्ने उनले बताए । उनले स्वास्थ्य, शिक्षा र कृर्षी क्षेत्रको सँगसँगै विकास हुनुपर्ने बताएका छन् । स्थानीय सरकारले यी तिन क्षेत्रको विकासमा पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए ।
बोगटान फुड्सिलमा भौगोलिक विकटता रहेको भए पनि स्वास्थ्यकर्मीको अथक प्रयासमा सबै बालबालिकालाई समयमै खोप लगाउन सकिएको भन्दै अध्यक्ष कमल बहादुर गड्सिलाले सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा छुट्न नहुने र स्वास्थ्यकर्मीको मनोबल बढाउन आफूले हरदम सहयोग गर्ने उनले बताए । पालिकाका सबै स्वास्थ्य स्वयम सेविकालाई मोबाइल फोन दिने र खोप कार्यकर्ताहरूलाई भाक्सेनेटर भत्ताको व्यवस्था गर्ने अध्यक्ष गड्सिलाले प्रतिबद्धता जनाए ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सात वटै वडाका एक एक जना खोप कार्यकर्ता, उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीहरूलाई सम्मान समेत गरिएको थियो ।
