
शिशिर बोगटी
जेठ २४, डोटी
बोगटान फुड्सिल गाउँपालिकामा गाउँघर चिकित्सा तथा नसर्ने रोगको खोज पडताल कार्यक्रम सम्पन्न भएको छ । यही जेठ २१ गतेबाट बोगटान फुड्सिल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ कानाचौरमा रहेको मेल्टा सामुदायिक स्वास्थ्य इकाई बाट सुरु भएको कार्यक्रम काटै सामुदायिक स्वास्थ्य इकाई, नाना ओवा सामुदायिक स्वास्थ्य इकाई हुँदै वडा नम्बर ४ को बल्लेकाडा सामुदायिक स्वास्थ्य इकाई मा सम्पन्न भएको आयोजकले जनाएको छ । नसर्ने रोगको खोज पडताल कार्यक्रममा गाउँपालिकाका डाक्टर सन्जित कुमार यादवले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गरेका थिए । डाक्टर यादवलाई ल्याब असिस्टेन्ट डम्बर खडका र फार्मेसी वीरेन्द्र चन्द सघाएका थिए ।
कार्यक्रममा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याहरूको खोज पडताल गरिएको थियो । साथै डाक्टरबाट बिरामीहरूको चेकजाँच सँगै परामर्श गरिएको थियो । यो कार्यक्रमबाट दुई सय ७१ जनाले सेवा पाएको कार्यक्रम संयोजक घनश्याम कठायतले जानकारी दिए । सेवा लिनेहरूमा एक सय २० जना ज्येष्ठ नागरिक, ५० जना बालबालिका र एक सय एक जना अन्य उमेर समूहका रहेका छन् ।
घर दैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम गाउँघरमा ल्याउनु पर्ने बताएका छन् ।
