सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने

Sayalb
जेठ २८, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका दलहरू बिच सरकारलाई पूर्णता दिने सहमति जुटेसँगै मुख्यमन्त्री दीर्घ सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।
सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाउने तयारी गरेसँगै मुख्यमन्त्रीले सरकार विस्तारको तयारी थालेको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै सोमबार अन्तिम टुङ्गो लाग्ने र आज नै मन्त्रीलाई शपथ खुवाउने तयारी थालिएको रावलको भनाइ छ । उनकाअनुसार एमाले र माओवादी केन्द्रबाट मन्त्री हुनेको नाम पनि लगभग टुङ्गो लागिसकेको छ ।यसका लागि दलहरूबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।
एमाले र माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाउने र यसबाहेक स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमालेले अर्थ मन्त्रालयसहित तीन मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले पनि सामाजिक मन्त्रालयसहित तीन मन्त्री पाउने सहमति भएको छ । हाल नागरिक उन्मुक्तिका दुई जना सरकारमा मन्त्री छन् ।
Shaileshwori
Loading...