सुदूरपश्चिम प्रदेश सरकार विस्तार, सात मन्त्रीले लिए शपथ

जेठ २८, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गरेका छन् । सोमवार थप सात जना मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकार १० सदस्यीय भएको छ ।  यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो ।
आज नियुक्त भएका मन्त्रीपरिषद्का सदस्यहरूले प्रदेश प्रमुख नजिर मिया समक्ष एक समारोहबिच पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथग्रहण गरेका नेकपा (एमाले) का सुरेन्द्र पालले आर्थिक मामिला र नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
Sayalb
यस्तै, एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी) का माया पन्तले तत्काललाई विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भइसकेका छन् ।
स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उनले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार भएनन् ।
एकीकृत समाजवादी दलका नेता समेत रहेका मुख्यमन्त्री सोडारीले सहमतिमा भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् । सुदूरपश्चिममा विगतमा सात मन्त्री र चार राज्यमन्त्रीसम्म बनाउने गरिएको थियो । डा. जोशीले शपथग्रहण नगरेपछि उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले आफै लिएका छन् ।
Shaileshwori
Loading...