कास्कीमा बाढीपहिरोमा परेर ११ को मृत्यु, चार जना घाइते

असार २८, पोखरा । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ४७ वर्षीय कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र २५ वर्षका ज्वाइँ अस्मित परियार रहेका छन् । सो घटना देखेपछि ४६ वर्षीया राधिका परियारको हर्ट अट्याक भई मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

Sayalb

सो घटनामा घाइते भएका पवन र कुमार परियारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यसै गरी कास्कीकै मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ भने हुमबहादुर घाइते भएका छन् । त्यसै गरी पोखरा महानगरपालिका वडा नं ३० र ३२ को सिमानामा रहेको चैनपुरमा आरती ओझाको घरमा बाढी पस्दा छोरीहरू १८ वर्षकी अस्मिता, ११ वर्षकी अनुष्का र उनका भतिज ९ वर्षीय पुष्प सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सो घटनामा घाइते ४० वर्षीय आरती ओझालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।

बाढी पहिरो आए पछि उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा उद्धार टोली कास्कीको मादीमा पुगेको उद्धारमा खटिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । मृतकहरूको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने बताइएको छ ।

Shaileshwori
Loading...