
साउन १८, डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो ।

सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिए ।
थापा समूहमा सिकार खेल्न गएको प्रारम्भिक जानकारी आएको भए पनि आफूसहितको प्रहरी टोली घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको डिएसपी भट्टराईले बताए । बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।
