
भदौ ३, बझाङ । पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु भएका चारै जना एकै परिवारका हुन् । गए राति आएको पहिरोमा परेर बेपत्ता भएका उनीहरूको सोमबार बिहान शव निकालिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रवीन्द्र केसीका अनुसार ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो । प्रहरीका अनुसार राति करिब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशीले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
