
भदौ ७, तनहुँ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ वटा शव निकालिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रवार बिहान करिब साढे ११ बजेतिर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनामा परेको थियो । डिएसपी थापाका अनुसार दुर्घटना स्थलबाट १६ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
