
भदौ १६ , काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले अरूलाई प्रधानमन्त्री पद छाड्न अनुरोध गरेको एक केन्द्रीय नेताले जानकारी दिए ।
‘शेखर कोइराला‚ शशांक कोइराला‚ विमलेन्द्र निधी‚ प्रकाशमान सिंह‚ पूर्णबहादुर खड्का‚ अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाउनुहोस् तर तपाईँ छैटौँ पटक प्रधानमन्त्री बन्न नलाग्नुहोस् भनेर उहाँले बैठकमा भन्नुभयो‚’ ती सदस्यले भने ।

शर्माले बैठकमा अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने तथा समकालीन नेतालाई न्याय र कदर हुने बताएको ती नेताले जानकारी दिए ।
‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरू प्रतिनिधि सभामा हुनुहुन्छ, जो अनुभवी र दक्ष पनि हुनुहुन्छ । उहाँहरूमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने– एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब २०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौँ‚’ उनले बैठकमा भने ।
