भदौ २४, डोटी । संविधान दिवसको अवसर डोटीमा डोटी साहित्य उत्सव २०८१ आयोजना आयोजना हुने भएको छ । नेपाली लेखक सङ्घ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा असोज ३ गते साहित्य उत्सव हुन लागेको हो ।
विगत लामो समयदेखि डोटीको भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा काम गर्दै आएका नेपाली लेखक सङ्घ डोटी र साहित्य प्रतिष्ठान डोटीले सोही क्रममा साहित्य उत्सवको आयोजना गरेका हुन् । उत्सवमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका स्रष्टाहरूको बेजोड प्रस्तुति रहने नेपाली लेखक सङ्घ डोटीले जनाएको छ । उत्सवमा तीन दर्जनभन्दा बढी साहित्यकारहरूको सहभागिता रहने नेपाली लेखक सङ्घ डोटीका अध्यक्ष फणेन्द्र साउँदले जानकारी दिए ।
उत्सवमा भाषा साहित्य कला संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयमा जनप्रतिनिधिसँग बहस हुनेछ । साथै कविता उत्सव, गजल उत्सव, मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव पनि हुने छन् ।
बहसमा शिखर नगरपालिकाका मेयर दीर्घ बलायर, बोगटान गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला सहभागी हुनेछन् । भने एउटा स्थानीय तहका प्रमुखको टुङ्गो लाग्न बाँकी रहेको आयोजकले जनाएको छ ।
कविता उत्सवमा डडेल्धुराका कवि कैलाशकुमार पाण्डेय, डोटीका कवि हिक्मत शाही र तोयानाथ भट्टले कविता सुनाउने छन् । गजल उत्सवमा अछामका गजलकार नवीन चिराग, बझाङका गजलकार लोकेन्द्र बोहरा ‘परिवर्तन’, डोटीका गजलकार रामचन्द्र राणा र कुश्मा भट्टले गजल सुनाउनेछन् ।
मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुरका कवि एवम् लेखक कविराज भट्ट, बझाङका गजलकार पूर्ण मल्ल, डोटीका कवि डिलबहादुर महारा र कवि एवम् लेखक तीर्थराज भट्टले डोटेली भाषाका रचना सुनाउनेछन् ।
विजय आउजी, दलदिपेस र सीता साउँदले मुक्तक सुनाउनेछन् । भने गायक गोपाल सुचिकार, शेर साउँद, राम साउँद र हरि सुदामाको पनि प्रस्तुति रहने छ । कार्यक्रममा चर्चित गजलकार गीता स्मृति कठायत, अमर खड्का, हेमा देउवा, हर्क खडायत धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावल लगायतका स्रष्टाहरूको पनि प्रस्तुति रहने छ ।
कार्यक्रममा डोटेली लोक साहित्यमा योगदान पुर्याउने पदम्राज जोशीलाई प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार र कवि निर्मल कुमार भण्डारीलाई कवि पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कारबाट सम्मानित गरिने भएको छ । दुवै पुरस्कारको राशि रु. एघार हजार एक सय ११ रहेको छ ।
आयोजकले विभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकारहरूलाई आमन्त्रण गरेको छ । आमन्त्रण गरेका साहित्यकारहरूमा डडेल्धुराका कवि कैलाश कुमार पाण्डेय, गजलकार निर्मला बोगटी, गजलकार एवं कवि हेमा देउवा, कैलालीका लेखक गड्सेरी माईला, कञ्चनपुरका कवि कबिराज भट्ट, बैतडीका लेखक देवेन्द्र भट्ट, कैलालीका साहित्यकार पदमराज जोशी प्रभात, निर्मल कुमार भण्डारी अछामका नवीन चिराग, गायक तथा गजलकार राम साउँद, बझाङका गजलकार पूर्ण मल्ल, गजलकार लोकेन्द्र बोहरा परिवर्तन र बाजुराका आख्यानकार हर्क खडायतको सहभागितामा साहित्य उत्सव हुन लागेको आयोजकले जनाएको छ । आयोजक उत्सवको भरपुर तयारीमा जुटेको छ ।