रामहरि ओझा
असोज ५, डोटी । डोटी, शिखर नगरपालिका–४ मा रहेको शारदा माविको नवनिर्मित भवन एक महिना नपुग्दै दुई पटक उद्घाटन भएको छ । सङ्घीय सरकारको लगानीमा निर्माण भएको दुई तले भवनको शुक्रवार शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायरले एक कार्यक्रमबिच दोस्रो पटक उद्घाटन गरेका छन् । सो भवन भाद्र १३ गते सोही नगरपालिकाका पूर्व प्रमुख सिताराम जोशीले उद्घाटन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिले औपचारिक रूपमा निर्णय गरी भाद्र १३ गते भवनको उद्घाटन भएको समितिका अध्यक्ष सुदर्शन शर्मा बताउँछन् । ‘समितिले एक पटक औपचारिक रूपमा पूर्व नगर प्रमुख सिताराम जोशीको हातबाट भवनको उद्घाटन गरिसकेको हो’ शर्माले भने ‘तर हिजो फेरी नगर प्रमुखले उद्घाटन गर्नु भयो भन्ने कुरा आयो, यो शक्ति प्रदर्शन गर्न खोजेको जस्तो लाग्यो ।’ हिजोको उद्घाटन कसको निर्णयमा भयो, के उद्देश्यका लागि भयो भन्ने कुरा आफूलाई थाह नभएको अध्यक्ष शर्मा बताउँछन् । ‘भवन फेरी उद्घाटन गर्नु प¥यो भन्ने नगरपालिकाबाट खबर आएको छ भनेर विद्यालयबाट मलाई खबर आएको थियो’ शर्माले भने ‘एक पटक उद्घाटन गरिसकेको भवन कति पटक गर्ने भन्दै मैले हुन्न भनेको हुँ ।’
त्यसपछि के के भयो आफूलाई जानकारी नभएको शर्मा बताउँछन् । उनले विद्यालय व्यवस्थापन समितिका कुनै पनि सदस्यहरू शुक्रवारको उद्घाटनमा नगएका दाबी गरे । उनले थपे ‘शिक्षक अभिभावक सङ्घका अध्यक्षको अध्यक्षतामा कार्यक्रम गरेका रहेछन्, विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेछ ।’ उनले अभिभावकहरूको पनि कार्यक्रममा सहभागिता नभएको दाबी गरे ।
व्यवस्थापन समितिले आमन्त्रण गरेपछि आफूले विद्यालयको उद्घाटन गरेको पूर्व नगर प्रमुख सिताराम जोशीले बताए । ‘म नगर प्रमुख हुँदा मेरै पहलमा भवन निर्माणको प्रक्रिया सुरु भएको थियो, त्यो विद्यालय मेरो गाउँकै विद्यालय पनि हो’ उनले भने ‘अभिभावकहरूले मलाई उद्घाटन गर्न बोलाउनु भयो, मैले उद्घाटन गरेको थिएँ ।’ सोही विद्यालयबाट अध्ययन गरेका जोशी आफू सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत रहिसकेको बताउँछन् ।
आफू नगर प्रमुख भएको हैसियतले नगरपालिकाभित्रको विद्यालयमा बनेको नयाँ भवनको विधिवत् रूपमा उद्घाटन गर्नु आफ्नो दायित्व भएको वर्तमान नगर प्रमुख दिर्घवहादुर बलायर बताउँछन् । ‘यसअघि के भयो भन्ने कुराको मलाई जानकारी छैन, भवन निर्माण भयो नगर सरकारको प्रमुखको हैसियतले मैले विधिवत् रूपमा उद्घाटन गरेँ ।’ यसअघि उद्घाटन भएको विषयमा नगरपालिकालाई कुनै आधिकारिक जानकारी नभएको नगर प्रमुख बलायर बताउँछन् ।
पहिलो पटक उद्घाटन हुँदा शिलालेख नराखिएको र पूर्व नगरप्रमुखले विधिवत् रूपमा पूजापाठ गरी भवनको उद्घाटन गरेको व्यवस्थापन समितिका अध्यक्ष शर्मा बताउँछन् । उनले भने ‘हिजोको उद्घाटनमा शिलालेख समेत राखिएको र त्यसमा नगरपालिकाले पनि भवन निर्माणका लागि लगानी गरेको भन्ने उल्लेख गरिएको भन्ने सुनेको छु, त्यो झुट्टा हो ।’ उक्त भवन निर्माणमा नगरपालिकाको कुनै योगदान नभएको उनी बताउँछन् । अघिल्लो उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष टेक मल्लको पनि सहभागिता रहेको तर दोस्रो कार्यक्रममा उनी पनि उपस्थित नभएका शर्माले बताए ।
वर्तमान नगर प्रमुख र पूर्व नगर प्रमुखबिचको विवादका कारण एउटै भवन दुई पटक उद्घाटन भएको बताउँछन् स्थानीयबासीहरु । ‘यी दुवै काँग्रेसै हुन् तर यिनीहरूबिच तीव्र विवाद छ, एकले अर्काको नामै सुन्न चाहान्न्’ एक स्थानीय भन्छन् ‘दुवै आ–आफ्नै मनलाग्दी गर्छन् ।’