
मङ्सिर ४ , डोटी । सवारी दुर्घटना प्रकरणमा डोटी स्थित के.आई.सिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् ।
शनिवार साँझ सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका–८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउँदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट धनगढी काठमाडौँ जाने तथा तराइवाट भित्रिने सवारी साधन तथा सयौँ यात्रुहरू अलपत्र परेका छन् । अलपत्र परेका यात्रुहरूले यथाशीघ्र अवरुद्ध सडक खोल्नु पर्ने भन्दै दबाब दिइरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिनुभयो । प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशङ्कामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।
जिपले मोटरसाइकललाई ठक्कर दिँदा डोटीमा एक जनाको मृत्यु – Muluk News
