
मंसिर ११, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले पुरस्कारमा कार पाउने भएका छन् । ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने घोषणा गरेको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा कार पुरस्कारसम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा मंगलवार ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट इतिहासमै पहिलो पटक खेलाडीले गाडी पुरस्कार पाउन लागेको बताए । उत्कृष्ट खेलाडीले पाउने गाडी भने अहिले सार्वजनिक गरिएको छैन तर त्यसबारे चाँडै नै जानकारी दिने सचिव खड्काले बताए ।
एनपिएल यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । लिगमा ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
