
मंसिर २५, काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।
तर, पर्सामा एकैदिनमा बयान सकिएको छ । पर्साका जिल्ला न्यायाधीवक्ता भोलाराथ निरौलाका अनुसार, सोध्नुपर्ने प्रश्नहरू पहिल्यै भएको र मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका छन् । यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।

पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो । त्यसको सुरुवात्मा परिचय खण्ड थिए भने अन्यमा मुद्दासँग सम्बन्धित विषय थिए ।
उनलाई पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । न्यायाधीवक्ता निरौलाका अनुसार, यो सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । तर, अनुसन्धानका बखत खुलेको अवस्थामा थपलाई पनि मुद्दा चलाउन मिल्ने प्रावधान अनुसार लामिछाने छानबिनमा तानिएका थिए ।
यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए । मुख्य आरोपी जीबी राई भने हालसम्म फरार छन् ।
