
रामदास राना
मङ्सिर २६, डोटी । सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीले डोटीको के.आई.सिंह. गाउँपालिको वडा नं. १ र ३ मा आफूले वितरण गरेको बाख्रा र बनाउन दिएको खोरको सोमवार अनुगमन गरेको छ । अनुगमनका क्रममा धेरैजसो बाख्राले मरेको पाठा पाठी जन्माएको बाख्रा पालक किसानले बताएका फोकल पर्सन अधिराज वि.सी.ले बताउनुभयो ।
अनुगमनमा सहभागी वडा भेटेरिनरी प्राविधिक इन्द्र बहादुर मल्लले बाख्राको खोर आफूले भने जस्तो नबनाइएको र आफूले भने जस्तो बाख्राहरूको हेरचाह नगरेकोले तुहिएका हुनसक्ने बताउनुभयो । उहाँले घरमा भएका बाख्रा र संस्थाले दिएका ब्याउने बाख्रा सँगै एउटै खोरमा राख्नाले आपसमा झगडा गरेको हुनसक्ने भएकोले पेटमा चोट लागेर तुहेको हुनसक्ने बताउनुभयो ।

सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीका कार्यक्रम संयोजक टेक बहादुर नेपालीले संस्थाले बनाउन लगाएको खोरमा बाख्रा नराख्ने गरेको देखिएकालाई उक्त खोरमा राख्न निर्देशन दिनुभयो । सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटी द्वारा सञ्चालित पहुँच परियोजना अन्तर्गत डी.सी.ए. नेपालको उपहार कार्यक्रमको आर्थिक सहयोगमा के.आई.सिंह. गाउँपालिका अन्तर्गतका वडा नं. १ र ३ का चार वटा समूहका एक सय नौ घरधुरीका दलित विपन्न परिवारलाई ४÷४ बाख्राका दरले तथा तीन वटा बिउँ बोका वितरण र खोर सुधारका लागी ६८ घरधुरीलाई रु १० हजारका दरले वितरण गरेको सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीका निर्देशक महेश त्रिखत्रीले बताउनुभयो ।
उक्त उपहार कार्यक्रममा झन्डै ४० लाख १४ हजार रुपैयाँ बराबरको रकम खर्च भएको सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीका लेखा अधिकृत कृष्ण सुन्दर श्रेष्ठले बताउनुभयो । अनुगमनमा के.आई.सिंह. गाउँपालिकाका उपाध्यक्ष मिना विष्ट, वडा कार्यपालिका सदस्य नारु विक, सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीका निर्देशक महेश त्रिखत्री, कार्यक्रम संयोजक टेक बहादुर नेपाली, फोकल पर्सन अधिराज वि.सी., लेखा अधिकृत कृष्ण सुन्दर श्रेष्ठ, बोर्ड सदस्य यज्ञ बहादुर पार्की, वडा भेटेरिनरी प्राविधिक इन्द्र बहादुर मल्ल रहनुभएको थियो ।
बाख्रा उपहार कार्यक्रमको सामाजिक परीक्षण
सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीले डोटीको के.आई.सिंह. गाउँपालिको वडा नं. ३ को कार्यालय वासुदेवीमा बाख्रा उपहार कार्यक्रमको सामाजिक परीक्षण गरेको छ ।
सम विकास केन्द्र डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्रीको अध्यक्षतामा मङ्गलवार सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा के.आई.सिंह. गाउँपालिका वडा नं. ३ का वडा सदस्य निर्मला ऐरले प्रमुख अतिथिको आसन वाट बोल्दै दलित तथा पिछडा वर्गलाई समेटेर महिला समूह बनाएर घरेलु तथा महिला माथि हुने हिंसा कम गर्न जनचेतनामूलक कार्यक्रम गरी ई.डी.सी.संस्थाले गरेका कामहरूको सराहना गर्नुभयो ।
सम विकास केन्द्र (ई.डी.सी.) नेपाल डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्रीले पहुँच परियोजना अन्तर्गत यस संस्थाले विपन्न, दलित, महिला, हलिया, बालबालिका, अपाङ्गता, सीमान्तकृत एवं पछि पारिएका लगायत विरुद्ध काम गरिरहेको बताउँदै महिलाहरू आर्थिकरुपमा आत्मनिर्भर भए आफैm महिला हिंसा कम भएर जाने भएकोले आर्थिकरुपमा आत्मनिर्भर बन्न बाख्रा वितरण गरिएको बताउनुभयो ।
सम विकास केन्द्र (ई.डी.सी.)ले दलित तथा विपन्न परिवारको आर्थिक अवस्थालाई आर्थिक रूपमा आत्म निर्भर बनाउने उद्देश्यले डिसिए नेपालको आर्थिक सहयोगमा सञ्चालित “उपहार कार्यक्रम” अन्तर्गत वितरण गरिएको बाख्रा खरिद र त्यसमा लागेको लागत खर्चको विवरण पेस गरेको हो ।
सम विकास केन्द्र डोटीका फोकल पर्सन अधिराज बि.सी.ले के.आई.सिंह. गाउँपालिको वडा नं. १ को वाउजेला र वडा नं. ३ को झिगावस्तीमा चार वटा समूहका एक सय नौ घरधुरीलाई बाख्रा वितरण र ६८ घरधुरीलाई बाख्राको खोर बनाउन रकम दिइएको बताउँदै त्यसमा ४० लाख १३ हजार ८ सय ७४ रुपैयाँ खर्च भएको विवरण पेस गर्नु भयो ।
संस्थाका फोकल पर्सन बि.सी.ले तिन सय १२ बाख्रा र तिन वटा बोका खरिदमा २८ लाख ३९ हजार पाँच सय ४८ रुपैयाँ ५४ पैसा खर्च भएको विवरण पेस गर्नुभयो ।
त्यस्तै मिटिङमा ३० हजार चार सय ४० रुपैयाँ, तालिममा ९९ हजार नौ सय ३५ रुपैयाँ २५ पैसा, खोर बनाउन छ लाख ८० हजार रुपैयाँ, बाख्रा अध्ययन गर्न बाख्रा खरिदको लागी ५७ हजार दुई सय ९० रुपैयाँ, सामाजिक परीक्षणमा आठ हजार छ सय, मनिटरिङमा एक लाख २५ हजार छ सय ४८ रुपैयाँ, बोर्डमा १७ हजार पाँच सय रुपैयाँ, जोईन मनिटरिङमा २४ हजार पाँच सय रुपैयाँ र म्यानेजमेन्ट पर्सनमा एक लाख २५ हजार खर्च भएको विवरण पेस गर्नुभयो ।
कार्यक्रममा महिला समूहका सदस्यहरूले समूह सम्बन्धी र बाख्रामा लागेका रोगका बारेमा आ–आफ्नो गुनासा र समस्याहरू राख्नुभएको थियो । गुनासा र समस्याहरूलाई ई.डी.सी. डोटीका फोकल पर्सन वि.सी. र वडाका भेटेरिनरी प्राविधिक इन्द्र मल्लले समाधान गर्नुभएको थियो ।
