
पुस ५, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । यही सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लगायत ५ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्नुअघि पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधकोसमेत अभियोग पत्र दायर गरिएको हो ।
१८ असोज २०८० मा जिल्ला अदालत कास्कीमा दर्ता भएको मुद्दाका लागि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमासमेत अनुसन्धान गरी ३७५ पृष्ठको थप अभियोग पत्र शुक्रबार दायर गरिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरी फरार रहेका जीबीसहित सञ्चालक र पुर्पक्षका लागि कारागार रहेकाहरूको पनि थप अध्ययन गरी १ सय ५१ करोड बिगोको माग गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

पछिल्लोपटक पोखरा महानगरपालिकाले गराएको वित्तीय प्रतिवेदन, संसदीय विषय छानबिन समितिको प्रतिवेदन, प्रहरीको प्रतिवेदन अनुसार थप अभियोगपत्र लैजानुपर्ने भएकाले सुरुमा मुद्दा दायर भएका १९ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो ।
यही सहकारी ठगीको मात्र मुद्दा चलाइएकाले अब सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा चलाउनुपर्ने देखिएको भन्दै थप भियोग पत्र दायर गरिएको हो । त्यसमा प्रहरी प्रतिवेदनको रायअनुसार नै १ अर्ब ५१ करोड बिगो तोकिएको काफ्लेले बताइन् । त्यो बेला मुद्दा चलाउनुभन्दा पछि पनि जाहेरी परेको र थप २ मुद्दामा पनि अनुसन्धान गरेर अदालतमा बुझाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्ति शर्माले जानकारी दिइन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सहकारी ठगीको मुद्दामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् । अब उनीहरूलाई सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको पनि मुद्दा लाग्ने भएको हो ।
सुरुमा पक्राउ पुर्जी भएकामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ अझै फरार छन् । उनीहरूलाई पक्राउ गर्न रेडकर्नर नोटिससमेत जारी भएको छ ।
