
पुस १८, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणले टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य हुने बताएका छन् । बिहिवार धनगढीमा आयोजित प्रादेशिक सडक सञ्जाल गुरुयोजना सम्बन्धी कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनेमा विकासको नाममा टुक्रे योजना बनाउने कार्य रोकिने मुख्यमन्त्री शाहको विश्वास छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयले आयोजना गरेको गोष्ठीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने तयारी गरिरहेको छ । गुरुयोजना बनाउनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नौ वटै जिल्लामा १६६ वटा सडक पहिचान गरेको छ । जसको लम्बाई झन्डै पाँच हजार किलोमिटर रहेको जनाइएको छ ।
