

पुस २१, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज (आइतबार)बाट वडा नम्बर ४ मा रहेको जोराघाट माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बोगटान फुड्सिल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा पालिकाभरिका माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल, हाई जम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, भाला लगायतका एथलेटिक्सका खेल खेलाइने मष्टेश्वर माध्यमिक विद्यालयकी शिक्षिका कमला कुवरले जानकारी दिइन् । प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला रहेका थिए भने उपाध्यक्ष बिष्ना बम, वडा अध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरू, विद्यालयहरूका शिक्षक, विद्यार्थीहरू र अविभावकहरुको सहभागिता रहेको थियो । आजबाट सुरु भएको प्रतियोगिता २३ गते सम्पन्न हुने छ ।
