
माघ १, डोटी । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ डोटीमा दशौ राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीको आयोजनामा केन्द्रको योगा हलमा मंगलबार दिवस मनाइएको हो । योग दिवस कार्यक्रमको प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार रहेका थिए ।
हरेक व्यक्तिले बोली व्यवहार कर्म र आहारमा सुधार ल्याउदै समाजमा सकारात्मक उर्जा दिने कार्यहरु गर्न जरुरी रहेको योग प्रशिक्षक बलदेव जोशीले बताए । ब्यक्ति सुखको पछाडी लागेर अनेकौ नकारात्मक सक्तिको आडमा घर, परिवार, समाज, नगर र देशलाई अपच्य हुने कामहरु गर्न नहुने कुरामा उनको जोड छ । साथै योग साधनामा लागे सबैको शारीरिक, मानसिक तथा आध्यात्मिक शान्ति जीवनमा छाउने जोशीले बताए ।

योगले शरीर, मन, र आत्माको सन्तुलन कायम गर्दै स्वस्थ र सकारात्मक जीवनको आधार निर्माण गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका प्रमुख विद्या घिमिरे (देउवा) ले बताइन् । योग हरेक व्यक्ति, समुदाय र हरेक उमेर समुहका लागि अत्यन्त आवश्यक रहेको उनको भनाइ छ । उनले दशौ राष्ट्रिय योग दिवसले सबैलाई नियमित योगलाई जीवनशैलीको अभिन्न अंग बनाउन प्रेरित गर्न मद्दत गरोस् भन्ने कामना गरेकी छन् ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर सुचिकारले योग शरीर, मन, र आत्माको समृद्धि प्रदान गर्ने मात्रै नभएर व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक ऊर्जा भरिदिने बताए । उनले योगलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउँदै स्वस्थ र समृद्ध जीवनको यात्रामा अघि बढ्न सबैमा अनुरोध गरे ।
