
माघ ९, डोटी । बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन हुन लागेको एक्सीस परियोजना कार्यक्रमको पालिका स्तरीय अभिमुखिकण र सल्लाहकार समिति गठन कार्यक्रम सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको हलमा परियोजनाका जिल्ला अधिकृत लक्ष्मी देउवा बमको उपस्थितिमा अभिमुखिकण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा अधिकृत बमले पिपुल ईन नीड नेपाल, नेपाल राष्ट्रिय अपाङ्ग महिला सङ्घ, अकाउन्ट्बिलिटी ल्याब नेपालको संयुक्त साझेदारीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा सञ्चालन हुने परियोजनाको लक्ष्य, उद्देश्यको बारेमा प्रस्ट पारेकी थिइन् । सीमान्तकृत बालबालिकाहरूको शिक्षामा पहुँच प्रवर्द्धन गर्न नागरिक समाजको भूमिका सुदृढीकरण गर्नु परियोजनाको मुख्य लक्ष्य रहेको बमले बताइन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला, प्रमुख प्रशासकीय अधिकृत भरत चन्द र कर्मचारीहरूको उपस्थिति रहेको थियो । एक्सीस परियोजना डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र केआईसिंह गाउँपालिकामा लागु हुँदै छ ।
