
माघ १२, डोटी । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीले ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । स्वास्थ्य निर्देशनालय दिपायले गरेको मूल्याङ्कनमा जिल्ला अस्पतालले ८८ अङ्क प्राप्त गरेको हो । शनिवार जिल्ला अस्पताल डोटीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अनुगमन मूल्याङ्कन गोष्ठीमा स्वास्थ्य निर्देशनालय दिपायलको अनुगमन मूल्याङ्कन समितिका डाक्टर कमलेश यादवले यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
निर्देशनालयले विभिन्न सूचकका आधारमा गर्ने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले अघिल्लो पटक सोही अङ्क प्राप्त गरेको थियो । निर्देशनालयले प्रदेशका अस्पतालहरूको वर्षको दुई पटक ६–६ महिनाको अन्तरमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन गर्दै आएको न्यूनतम सेवा मापदण्ड अधिकृत सुप्रिया बस्नेतले बताइन् । यस पटक प्रदेशका जिल्ला अस्पतालहरूमा जिल्ला अस्पताल डोटीको सबैभन्दा पहिला मूल्याङ्कन गरिएको र अन्य अस्पतालहरूको आउने दिनहरूमा मूल्याङ्कन गरिने बस्नेतले बताइन् ।

अस्पतालले अङ्कमा सुधार गर्न नसके पनि कायम राख्न सक्नु एउटा उपलब्धि रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा।सुजित कुमार मण्डलले बताए । अस्पतालबाट प्रवाह हुने सेवालाई गुणस्तरीय बनाउँदै सेवाग्राहीको मन जित्ने गरी अस्पतालको टिम लागि परेको डा. मण्डलको भनाई छ । अस्पतालमा हाल कायम रहेको भवन असुविधाका कारण न्यूनतम सेवा मापदण्डमा उल्लेख्य सुधार गर्न नसकिएको डाक्टर मण्डलले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले सक्रियताका साथ अस्पतालको कार्यमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, कर्मचारी र व्यवस्थापन समितिलाई धन्यवाद दिए । उनले अस्पतालले प्रदान गरिरहेको सेवालाई घट्न नदिन सबैले राम्रो भूमिका खेलेको बताए । अस्तालको विकासका लागि प्रदेश र केन्द्रका मन्त्रालय धाउन कतै बाँकी नराखेको बताउँदै राजनितिक कारणले सोचेजस्तो काम गर्न नसकिएको अध्यक्ष नेपाललीको भनाई छ ।
