बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माणमा ढिलाइ

माघ १५, डोटी । बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा ढिलाइ भएको छ । २५ शैयामा सञ्चालित अस्पताललाई स्तरबृद्धी गरी ५० शैयाको बनाउने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको ५० शैया भवन निर्माणमा ढिलाइ भएको हो ।

सङ्घीय विशेष अनुदानतर्फको आ.व २०७७÷०७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले भ्याटसहित दस करोड २७ लाख २५ हजार नौ सय त्रिहत्तर रुपैयाँ २६ पैसामा के.यस. कन्स्ट्रक्सन धनगढी कैलालीसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीले सम्झौता अनुसार २०७९ फागुन ४ गतेसम्म भवन निर्माण गरिसक्नुपर्ने थियो ।

कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण पक्षले काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुन ४ गतेदेखि २०८० माघ २१ गतेसम्मका लागि पहिलो पटक अस्पतालले म्याद थप ग¥यो । सो अवधिमा पनि काम सम्पन्न हुन सकेन । अहिलेसम्म भवनको भौतिक प्रगति ९२.७५ प्रतिशत रहेको निर्माण पक्षले बताएको छ ।

Sayalb

निर्माण पक्षलाई आठ करोड ६५ लाख सात हजार सात सय २६ रुपैयाँ भुक्तानी गरिसकिएको अस्पताल प्रशासनले बताएको छ । बिल अनुसार रु. एक करोड ८० लाख ४५ हजार नौ सय ४० भुक्तानी हुन बाँकी रहेको छ । बजेट नहुँदा बिल भुक्तानी हुन नसकेको हो । भवनको काम सम्पन्न गर्न रु. दुई करोड ७५ लाख ३२ हजार तीन सय ३२ आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुजित कुमार मण्डलले बताए । चालू आर्थिक वर्षमा यो भवन निर्माणका लागि बजेट छुट्टाइएको छैन ।

भवनको निर्माण सम्पन्न गर्न आवश्यक पर्ने रकम व्यवस्थापनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय देखि केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्म धाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । तर अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको उनको भनाइ छ । उन भने, “हामीले आर्थिक वर्ष सुरु हुनु अगावै मन्त्रालयमा बजेटका लागि माग गरेका थियौँ, बजेट विनियोजन हुँदा हाम्रो अस्पतालमा रकम नै आएन अहिले पनि कार्यालयहरू धाइरहेका छौँ ।” चालू आर्थिक वर्षमा बजेट सुनिश्चित नभएपछि भवनको निर्माण कार्यमा ढिलाइ भएको अध्यक्ष नेपालीले बताएका छन् ।

दुुइ तीन महिनामा सकिने काम बजेट प्राप्त नहुँदा अर्को आर्थिक वर्ष कुर्नुपर्ने स्थितिमा आफूहरू रहेको निमित्त मेसु मण्डलले बताए । उनले भने, “एकतिर बन्दै गरेको भवन निर्माणमा ढिलाइ भएको छ अर्कोतिर भवन अभावमा अस्पतालका सेवा प्रभावित भइरहेका छन् ।” उनले भवन अभावका कारण अस्पतालले बाल पोषण गृह, स्तनमान पक्ष, दोस्रो शल्यक्रिया कक्ष जस्ता महत्त्वपूर्ण कार्यको सुरुवात गर्न नसकेको बताए । अस्पतालमा एउटा मात्र शल्यक्रिया कक्ष हुँदा त्यहाँ शल्यक्रिया कार्य चलिरहेकाबेला अर्को आकस्मिक केस आएमा समस्या हुने स्थिति रहेको छ । भवन अभावकै कारण न्यूनतम सेवा मापदण्डमा अस्पतालले भनेजस्तो सुधार गर्न नसकेको मण्डलको भनाइ छ ।

यता भवन निर्माणको काम गरिरहेको के.यस. कन्स्ट्रक्सनले भुक्तानी हुन बाँकी रकम भुक्तानी भएमा बाँकी काम दुई महिनामा सकेर भवन हस्तान्तरण गर्ने दाबी गरेको छ । अहिले पनि निर्माणको कार्य सुस्त गतिमा भइरहेकाले बाँकी बिल भुक्तानी भई म्याद थपको प्रक्रिया टुङ्गिएमा छिट्टै भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीका इन्जिनियर रमेश केसीले बताए ।

Shaileshwori
Loading...