
माघ १९, डोटी । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा डोटीका ११ हजार बढीलाई खोप लगाइने भएको छ । देशभर माघ २२ गतेबाट एकै साथ सञ्चालन हुन लागेको खोप अभियानमा जिल्लाका ११ हजार चार सय ८७ जना किशोरीहरूलाई खोप लगाइन लागेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत दश हजार ९ सय एक जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच सय ८६ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । खोप अभियान सञ्चालन गर्न एक सय ९५ विद्यालय र एक सय सात स्वास्थ्य संस्थाहरू गरी तीन सय दुई खोप केन्द्रहरू तोकिएका छन् । विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि सम्बन्धित विद्यालय र विद्यालय बाहिरका किशोरीहरूका लागि स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ ।

खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने छ । प्रत्येक पालिकामा चिकित्सक सहितको एईएफआई व्यवस्थापन तथा उपचार टोलीसमेत परिचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताऐ । नौ ओटा पालिका रहेको डोटी जिल्लामा अभियान माघ २८ गतेसम्म सञ्चालन हुने छ ।
