
फागुन २५, डोटी । डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप गए राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो ।

आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन ।
जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
