
लाल बहादुर चदारा
वैशाख १५, मेल्लेख । अछामको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा सोमवर अनुगमन गरिएको छ । अनुगमन पश्चात् मेल्लेख गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखसँग हालको कर्मचारी दरबन्दी र सेवा प्रवाहको अवस्था बारे अन्तरक्रिया गरेको छ ।
मेल्लेख गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नृप बहादुर खड्काको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश लोक सेवा आयोगका सदस्य भागरथी रानाले प्रदेश लोक सेवा आयोगले हालसम्म गरेका काम काज र आगामी गर्नुपर्ने क्रियाकलाप बारे जानकारी गराएका थिए ।

यस्तै प्रदेश लोक सेवा आयोग सदस्य लक्ष्मण खड्काले कर्मचारीले राखेका जिज्ञासाको जवाफ दिँदै कर्मचारीका समस्या समाधानको लागि आफ्नो पहल महत्त्वपूर्ण रहने बताए । अन्तरक्रिया कार्यक्रममा स्थानीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने विषयमा पनि छलफल गरिएको छ ।
कार्यक्रमको समापनमा बोल्दै मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नृप बहादुर खड्काले प्रदेश लोक सेवा आयोगलाई सुझाव राख्दै कर्मचारीको सवालमा आफू सधैँ सहयोग गरिरहने र गाउँपालिका महासङ्घ प्रदेश सदस्यको हैसियतले कर्मचारीका सवाल प्रति आफू प्रतिबद्ध रहेको बताए । उनले पालिकामा आवश्यक दरबन्दी पदपूर्तिका लागि पनि पहल गरिने बताए ।
निमित्त प्रमुख प्रशासकीय तथा शिक्षा अधिकृत वीरेन्द्र बहादुर खड्काले स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रदेश लोक सेवा आयोग शाखा अधिकृत देवेन्द्र शाहले गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कुसलराज बुढा वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी लगायत शाखा प्रमुखको सहभागिता रहेको थियो ।
