
वैशाख १९, डोटी । स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले कानुन निर्माणका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । वैशाख १७ गते प्रदेश कार्यसमितिले प्रदेश अन्तर्गतका सबै पालिका, जिल्ला, प्रदेश कार्य समिति तथा प्रदेश अन्तर्गतका स्थानीय सेवाका सबै कर्मचारीहरूका लागि पत्र जारी गर्दै वैशाख २१ देखी २६ गतेसम्मको सङ्घर्षका तालिका सार्वजनिक गरेको छ ।
वैशाख २१ र २२ प्रदेशका प्रत्येक पालिकामा पालिका सङ्घर्ष समिति पुनर्गठन गर्ने, २३ र २४ गते आवश्यक परेमा जिल्लामा संर्घष समिति पुनर्गठन गर्ने र आन्दोलनका लागि निर्णय गर्ने जनाइएको छ । त्यस्तै वैशाख २६ गते दिउँसो धनगढीमा भेला भई प्रदेश सङ्घर्ष समिति आवश्यकता बमोजिम पुनर्गठन गरी आन्दोलनका कार्यक्रम घोषणा, ज्ञापन पत्र तथा प्रभावकारी सञ्चालन गर्ने बताइएको छ ।

स्थानीय तह कर्मचारी कर्मचारी सञ्जाल प्रदेश कार्यसमिति धनगढीले जारी गरेको पत्रमा भनिएको छ, “स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवा, करार कर्मचारी, विभिन्न ट्रेड युनियनमा आबद्ध सबै कर्मचारीको ऐक्यबद्धता सहित स्थानीय सेवालाई दीर्घकालीन रूपमा सबल बनाउने दिशामा अग्रसर रहनुपर्दछ, तथा हाललाई प्रदेश सभामा दर्ता भएको स्थानीय सेवा विधेयकलाई जारी गराउन एवं सोही बमोजिम नियमावली निर्माणमा दबाब गर्नु मूल उद्देश्य रहेको ब्यहोरामा स्पष्ट हुन सबैमा अनुरोध गरिन्छ ।”

