
वैशाख २९, ढाका । बंगलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताका हुन् ।
प्राध्यापक युनुसले भने, ‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ’, उनले भने । उनले नेपाल र बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरेका थिए । गत अक्टोबरमा बंगलादेश–नेपाल–भारतमाझ नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।

उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने । त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेकी थिइन् । ‘नेपालका सबै सांसदहरु बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’
‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।’
