
जेठ १६, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले समृद्ध बोगटान अभियानअन्तर्गत “मातृभूमि महोत्सव” को आयोजना गरेको छ । “समृद्ध बोगटान” भन्ने मूल नाराका साथ आयोजना भएको “मातृभूमि महोत्सव” शुक्रबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । खत्याडी माध्यमिक विद्यालय चमरा चौतारामा आयोजित महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका थिए ।
महोत्सवमा बोगटान फुड्सिल क्षेत्रको कला, साहित्य, संस्कृति, परम्परा र समृद्धिका आधारहरूबारे विभिन्न क्षेत्रका वक्ताहरूले विचार राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गड्सिलाले बोगटान फुड्सिलको समृद्धिमा स्थानीय कला, संस्कृति, प्रकृति, पर्यटन र उत्पादनहरूलाई जोड दिँदै मातृभूमि महोत्सवले देश–विदेशमा रहेका पालिका वासिहरूलाई जोड्ने माध्यम हुने बताए । उनले पालिका बाहिर रहेका दक्ष जनशक्तिसँग सहकार्य गर्दै समृद्धि अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । उपाध्यक्ष बिस्ना देवि बमले यस्तो कार्यक्रमले गाउँपालिकाको कला, संस्कृति बनाउनमा सहयोग पुग्ने बताइन् । उनले पालिकाले यस्ता कार्यक्रम आगामी दिनहरुमा गर्ने बताइन् ।

महोत्सवमा विशेष अतिथिका रूपमा सहभागी मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले बोगटान फुड्सिलको मौलिक कला, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई संस्कारित बनाउनु पर्ने बताए । उनले आफ्ना कृतिहरूमा बोगटान फुड्सिलको भूगोल, जनजीवन र माटोको सुवास समेटिएको अनुभव पनि सुनाए । चर्चित गायक तथा लेखक यज्ञराज उपाध्यायले पुराना पुस्तासँगै हराउँदै गएको लोकसंस्कृति र संस्कारबारे चिन्ता व्यक्त गरे । उनले विद्यालयस्तरमै विद्यार्थीहरूलाई आफ्ना संस्कार र परम्परा सिकाउनुपर्ने आवश्यकता औंल्याए ।
विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्ने उद्देश्यले गाउँपालिकाले कक्षा ६ माथिका करिब एक हजार तीन सय विद्यार्थीलाई “बाआमा” आख्यान तथा प्रत्येक विद्यालयलाई “काली कर्णालीको लोक साहित्य तथा संस्कृति” पुस्तक वितरण गरेको छ । यसै अवसरमा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटमार्फत बोगटानको नाम चिनाउने खेलाडी लोकेश बमलाई पालिकाले सम्मान सहित पुरस्किृत गरेको छ । क्रिकेटर बमलाई नगद एक लाख रुपैयाँ राशिको पुरस्कारले सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए । कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत राखेका थिए । कार्यक्रमको सभापतित्व पालिका उपाध्यक्ष विष्नादेवी बमले गरेकी थिइन् भने स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले राखेका थिए ।
