डोटीमा एसइई नतिजा : गत वर्षभन्दा धेरै सुधार, तर छैन सन्तुष्ट हुने आधार

रामहरि ओझा, डोटी । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको विद्यालय शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार डोटी जिल्लाबाट ३६.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई डोटीले दिएको जानकारी अनुसार गत चैत्र १७ गतेदेखि सञ्चालन भएको एसइईमा डोटीका दुई हजार नौ सय १४ विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूमध्ये एक हजार ७३ विद्यार्थी स्तरिकृत भएका शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख ममता पालले जानकारी दिइन् ।
पालका अनुसार डोटीमा ४ जिपिए कुनै पनि विद्यार्थीले ल्याएका छैनन् । ‘३.६ जिपिएभन्दा माथि र ४ जिपिएभन्दा कम ल्याउने विद्यार्थीहरूको सङ्ख्या ५३ छ’ पालले भनिन् ‘३.६ भन्दा कम र ३.२ जिपिए ल्याउने १ सय ९० विद्यार्थी छन् ।’
यस्तै, २.८ देखीमाथि ३.२ भन्दा कम जिपिए ल्याउने ३ सय ९४, २.४ देखि २.८ को बिचमा जिपिए ल्याउने ३ सय ९६ रहेको पालले दिएको सूचनामा उल्लेख छ । ४० जना विद्यार्थीले २ देखि २.४ जिपिएको बिचमा ल्याएका छन् । १ हजार ८ सय ४१ विद्यार्थी स्तरिकृत नभएको उनले बताइन् । बोर्डले १.६ भन्दा माथि भएकालाई मात्रै स्तरिकृत गरेको छ ।
२०८० सालको एसइई परीक्षामा डोटीबाट १७.४७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । यस आधारमा यस वर्षको नतिजामा सुधार भएको देखिन्छ । तर सन्तुष्ट हुने आधार भने छैन । राष्ट्रिय स्तरमा ६१.८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुँदा जिल्लाको नतिजा राष्ट्रियको भन्दा झन्डै आधा मात्रै देखिन्छ । ‘गत वर्षभन्दा त धेरै सुधार भएको छ, तर सन्तुष्ट हुने खालको नजिता त छैन’ समन्वय इकाईका निमित्त प्रमुख पाल भन्छिन् ‘अझै धेरै सुधार गर्नु जरुरी छ ।’
Sayalb
५ विद्यालयको शून्य प्रतिशत नजिता 
यस वर्षको एसइईमा सहभागी भएका पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य प्रतिशत आएको छ । समन्वय इकाईका निमित्त प्रमुख पालका अनुसार पूर्वीचौकी गाउँपालिका–२ मा रहेका भारतोली मावि र नेत्रेश्वरी माविबाट परीक्षामा सहभागी भएका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । भारतोली माविबाट १७ र नेत्रेश्वरी माविबाट ७ जना विद्यार्थी सहभागी भएका थिए ।
यस्तै, जोरायल गाउँपालिका–५ मा रहेको महाकाली माविबाट पनि कुनै विद्यार्थी उत्तीर्ण हुन सकेनन् । यस विद्यालयबाट ६ जनाले परीक्षा दिएका थिए । जोरायल–६ को कृष्ण माविबाट पनि कुनै विद्यार्थी उत्तीर्ण भएनन् । यस विद्यालयबाट ८ जना सहभागी भएका थिए । शून्य नतिजा ल्याउनेमा शिखर नगरपालिका–७ को लाटामाण्डौं मावि पनि रहेको छ । यस विद्यालयबाट १० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
शत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने सामुदायिक विद्यालय एउटा पनि छैन । दिपायल सिलगढी नगरपालिकाभित्रका दुई संस्थागत विद्यालयहरूले शत प्रतिशत नतिजा ल्याएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ मा रहेको सु–जङ्ग विद्यालयबाट सहभागी ७७ जना सबै उत्तीर्ण भएका छन् । यस्तै, वडा नं. ३ मा रहेको दिपायल एकेडेमीबाट सहभागी भएका १६ जना सबै उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयमध्ये राम्रो नतिजा ल्याउनेमा शिखर नगरपालिका–९ को सिताराम मावि रहेको पालले जानकारी दिइन् । उनले भनिन् ‘त्यस विद्यालयबाट ४५ जना विद्यार्थी सहभागी भएकामा ४१ जना अर्थात् ९१ प्रतिशत उत्तीर्ण भएका छन् ।’
Shaileshwori
Loading...