
धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिताको उपाधिका डडेल्धुराले हात पारेको छ । बिहिवार भएको फाइनल खेलमा कञ्चनपुरलाई हराउँदै डडेल्धुराले उपाधि हात पारेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा ८९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो । उसका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । डडेल्धुराले २९ रन अतिरिक्त दिएको थियो । डडेल्धुराका मनीषा खत्री र हिरा साउँदले २–२ तथा आशिका महरा, सञ्जु साउँद र निशा कठायतले १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको डडेल्धुरा १६.५ ओभरमा ८८ रनमा समेटिएको थियो । डडेल्धुराका लागि हिरा साउँदले २४ रनको अविजित पारि खेलिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले १ विकेट लिइन् ।
