

२९ पुष, डोटी ।
‘हामीले पटक पटक सचेतना अभियानहरु सञ्चालन गरिरहेका छौं, बिद्यालयस्तरमा पनि बालक्लव गठन गरेर बालबिवाहको परिणामबारे सचेतना फैलाइरहेका छौं, तर पनि बालबिवाह रोक्न सकिएको छैन ।’
कैलाली, चुरे गाउँपालिका–२ का वडा अध्यक्ष केशव वहादुर साउँदको भनाई हो यो । बालबिवाह रोक्नका लागि गाउँपालिकाबाट, वडाबाट, बिद्यालय तहबाट, स्वास्थ्य संस्थाहरुबाट र बिभिन्न गैरसरकारी संस्थाहरुबाट समेत प्रयास गरिएपनि नरोकिएको उनको भनाई छ । साउँदका अनुसार पहिले जस्तो अभिभावकहरुले मगनी गरेर बालबिवाह हुँदैनन् तर सानै उमेरमा किशोरकिशोरीहरुले भागेर बिहे गर्दा समस्या भएको हो ।
बालबिवाहका कारण उमेर नपुगी आमा हुनेको संख्या पनि धेरै रहेको स्थानीय खैराला स्वास्थ चौकीमा कार्यरत स्वास्थ्यकर्मी कौशिला कार्की वताउँछिन् । ‘गत आर्थिक बर्ष (२०८१÷२०८२) मा यस स्वास्थ्य चौकीमा भएका जम्मा सस्थागत सुत्केरी संख्या ३५ जना थियो । सोमध्ये २० बर्षमूनिका ९ जना रहेका छन्’ उनले भनिन् ‘चलु अर्थिक बर्षमा हालसम्म १६ जना संस्थागत सुत्केरी भएकामा चार जना २० बर्षमूनिका छन् ।’ उनले यसबाट पनि बालबिवाह उच्च छ भन्ने देखाएको वताईन् । उनले यो अवधीमा चार जना महिलाहरु २० बर्ष नपुग्दै दोश्रो सन्तानको पनि आमा भएको वताईन् ।
बालविवाहलाई घुमाउरो तरिकाले अभिभावकहरुले पनि सहयोग गरिरहेको वताउँछन् चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रवहादुर लामिछाने मगर । उनी भन्छन् ‘छोराले भगाएर ल्याईहाल्यो अव बिहे गरिदिनु पर्ने भयो भनेर भित्राउँछन्, भोज खुवाउँछन्, यसले अरुको पनि मनोवल बढ्छ ।’ उनले अभिभावकहरुले यस बिषयमा सचेत हुनु पर्ने वताए ।
फोन र सामाजिक सञ्जालको दुरुपयोगले बालबिवाह बढेको आमा समूहकी अध्यक्ष भावना घर्तिमगरको भनाई छ । उनी भन्छिन् ‘फोनबाटै सम्पर्क हुन्छ, माया बस्छ, भागेर जान्छन् ।’ अभिभावकहरुले पनि यसलाई गम्भिर रुपमा नलिएको उनको भनाई छ ।
बालबिवाह सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको वताउँछन् स्थानीय अगुवा कर्णवहादुर बिक । उनी भन्छन् ‘कानुमा लेखिएको छ तर त्यसको कार्यान्वयन छैन, अनि कसरी रोकिन्छ बालबिवाह ?’
बालबिवाह रोक्नका लागि गाउँपालिकाभित्रका सवै सरोकारवालाहरुले प्रभावकारी सहकार्य गर्नु पर्ने वताउँछन् चुरेमा गैरसरकारी संस्था फाया नेपालका कार्यकारी निर्देशक शेरवहादुर बस्नेत । उनले भने ‘बालबिवाह रोक्न सकिन्छ र रोक्नु पर्छ, त्यसका लागि बालक्लवहरु र अभिभावकहरु बढी जिम्मेवार हुनु पर्छ ।’ पालिकाले पनि बालबिवाहप्रति कठोर नीति लिनु पर्ने उनको सुझाव छ ।
बालबिवाहकै कारण गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष चक्रवहादुर बोगटी वताउँछन् । ‘हाम्रो पालिकामा करीव ४५ प्रतिशत बालबिवाह छ, अभिभावकले गराईदिने बालबिवाह घटेका भएपनि भागेर हुने बालबिवाह रोकिएको छैन’ अध्यक्ष बोगटीले भने ‘यही कारणले हामीले बालमैत्री पालिका घोषणा गर्न सक्ने अवस्था छैन ।’ बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नका लागि पुरा गर्नु पर्ने ५१ सूचकहरुमध्ये एक बालबिवाहको सूचक पनि रहेको बोगटीले वताए ।
