सुदूरपश्चिमबाट समानुपातिक कोटामा ११ सांसद

Sayalb

३ चैत्र, डाेटी । सुदूरपश्चिमबाट समानुपातिक कोटामा सांसद बन्न ११ जना सांसद वनेका छन् ।
बिभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगलाई सिफारिस गरेको समानुपातिक तर्फका सांसदहरुको सूची अनुसार सो संख्या देखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जनाको नाम सिफारिस गरेको छ । अछामबाट ज्वाला संग्रौला र रत्ना थापा, कञ्चनपुरबाट प्रतिभा रावल र गीता चौधरी, कैलालीबाट करिष्मा कठरिया र डडेल्धुराबाट आकृति अवस्थीलाई पार्टीले समानुपातिकमा सिफारिस गरेको रास्वपा डोटीका सभापति केशववहादुर बलायरले जानकारी दिए । बलायरका अनुसार सुदूरपश्चिमबाट सिफारिस हुनेमा सवै महिला छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमबाट तीन जनालाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ । बझाङबाट गणेश बिक, कञ्चनपुरबाट निराशा चौधरी डगौरा र कैलालीबाट प्रेम बयक सिफारिस भएको नेकपा नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीले जानकारी दिए ।
नेपाली कांग्रेसबाट एक जनाको नाम सिफारिस भएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री बिरवहादुर बलायरले दिएको जानकारी अनुसार डडेल्धुराबाट हरिना नेपालीको नाम सिफारिस भएको हो ।
नेकपा एमालेले पनि एक जनाको नाम सिफारिस गरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणवहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार कञ्चनपुरबाट कृपा रानालाई सिफारिस गरिएको छ ।

Shaileshwori
Loading...