माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण : डोटीलाई ५८.५३ प्रतिशत अङ्क प्राप्त, कुन पालीकाले कति पाए ?

जेठ २१, डोटी । डोटी जिल्लाका माध्यमिक विद्यालयको कार्यसम्पादन स्तर सामान्य देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको वार्षिक प्रतिवेदन २०८१/०८२ का अनुसार डोटी जिल्लाले ५८ दशमलव ५३ प्रतिशत पाएको छ, जुन सामान्य हो । यो तथ्याङ्क जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीको समन्वयमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहिवार (आज) सिलगढीमा आयोजना गरेको सञ्चार संस्था एवम् सञ्चारर्कीसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा देशभरका पाँच जिल्लाका माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण गरेकोमा डोटीले पाएको अङ्क सबैभन्दा कमजोर रहेको छ । प्रतिवेदन अनुसार इलामले ६५ दशमलव १६, जुम्लाले ६४ दशमलव २४, बैतडीले ६२ दशमलव ७५, जाजरकोटले ६२ दशमलव ३४ र डोटीले ५८ दशमलव ५३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
विद्यालयलाई कमजोर, सामान्य, मध्यम र उत्तम गरी चार भागमा वर्गीकरण गरिएको छ । ४० प्रतिशत भन्दा कम अङ्क लाई कमजोर, ४०–७० प्रतिशत अङ्कलाई सामान्य, ७० वा सोभन्दा माथि ९० प्रतिशत भन्दा कम भएकालाई मध्यम र ९० प्रतिशत वा सो भन्दा माथिकोलाई उत्तम स्तर तोक्ने व्यवस्था छ ।

केन्द्रका महानिर्देशक जयराम अधिकारीका अनुसार लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका आधारमा ८९ ओटा सूचकको विकास गरी विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको हो । आर्थिक वर्ष २०७३/७४ देखि माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण गर्न थालिएको थियो । हालसम्म ७७ जिल्लाका छ हजार तीन सय ७० माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको छ ।

डोटी जिल्लाका नौ ओटा स्थानीय तहका जम्मा ८५ ओटा माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार जिल्लाका दुई ओटा विद्यालय कमजोर, ७९ विद्यालय सामान्य तथा चार विद्यालय मध्यम स्तरका छन् । दिपायल सिलगढी नगरपालिकाका ९ ओटा विद्यालयमा एक कमजोर, सात सामान्य र एक मध्यम स्तरका छन् ।

शिखर नगरपालिकामा परीक्षण गरिएका १३ विद्यालयमा ११ ओटा सामान्य र दुई ओटा मध्यम, के.आई.सिंह गाउँपालिकामा ९ ओटामा सबै सामान्य, जोरायल गाउँपालिकाका ११ ओटी विद्यालय सामान्य र बडीकेदार गाउँपालिकाका ९ विद्यालय सामान्य स्तरका रहेका छन् । त्यसै गरी बोगटान फुड्सिल गाउँपालिकाका ९ ओटा विद्यालयको स्तर परीक्षण गरिएकोमा आठ सामान्य तथा एक मध्यम, पूर्वीचौकी गाउँपालिकाका एक कमजोर र सात सामान्य तथा सायल गाउँपालिकाका सात विद्यालय सामान्य रहेका छन् ।

स्थानीय तहमा जोरायल गाउँपालिकाले ६२ दशमलव ३३ अङ्क पाएको छ । जून सबै भन्दा बढी हो । दोस्रोमा शिखर नगरपालिकाको ६२ दशमलव २३ अङ्क रहेको छ । त्यस्तै के.आई.सिंह गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकाको क्रमशः ६१ दशमलव २०, ६० दशमलव ५१, ५८ दशमलव ४७, ५६ दशमलव ५२, ५५ दशमलव ८४ र ५५ दशमलव ५३ अङ्क प्राप्त गरेका छन् । पूर्वीचौकी गाउँपालिकाले ५० दशमलव ०९ प्राप्त गरेको छ । जून सबै भन्दा न्यून हो ।
लगानी, प्रतिफल, उपलब्धि र विद्यार्थी सङ्ख्याको आधारमा
लगानीमा २५ प्रतिशत अङ्क निर्धारण गरिएको छ । डोटी जिल्लाले २५ मा १४ दशमलव ६ प्रतिशत प्राप्त गरेको छ । लगानीमा बोगटान फुड्सिल गाउँपालिकाले १५ दशमलव ८, जोरायल गाउँपालिका १५ दशमलव ४, शिखर नगरपालिका १५ दशमलव ३ र दिपायल सिलगढी नगरपालिका तथा आदर्श गाउँपालिकाले समान १५ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन् । त्यस्तै के.आई. सिंह गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र पुर्विचौकी गाउँपालिकाले क्रमशः १४ दशमलव २, १४ दशमलव १, १३ दशमलव ४ र ११ दशमलव ८ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

Sayalb

प्रक्रियामा समग्र जिल्लाले ३० प्रतिशतमा १८ दशमलव ३ अङ्क प्राप्त गरेको छ । जोरायल गाउँपालिकाले १९ दशमलव ७, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाले समान १९ दशमलव ६, आदर्श गाउँपालिकाले १९ दशमलव ५, दिपायल सिलगढी नगरपालिका १७ दशमलव ९, बडीकेदार गाउँपालिका १७ दशमलव ६, के.आई.सिंह गाउँपालिका १७ दशमलव ३, सायल गाउँपालिका १६ र पुर्विचौकी गाउँपालिकाले १५ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

त्यसै गरी उपलब्धि ४० प्रतिशतमा जिल्लाको अङ्क २३ प्रतिशत रहेको छ । के.आई.सिंह गाउँपालिका २७ दशमलव ४, जोरायल गाउँपालिका २५ दशमलव ७, शिखर नगरपालिका २४ दशमलव ७, बडीकेदार गाउँपालिका २३ दशमलव ६, बोगटान फुड्सिल गाउँपालिका २३ दशमलव ३, सायल गाउँपालिका २२ दशमलव ३, आदर्श गाउँपालिका १९ दशमलव ६, दिपायल सिलगढी नगरपालिका १९ दशमलव ४ र पुर्विचौकी गाउँपालिका १९ दशमलव १ प्रतिशत अङ्क रहेको छ ।

र विद्यार्थी सङ्ख्या ५ प्रतिशतमा डोटी जिल्लाले पाएको अङ्क २ दशमलव ७ रहेको छ । पालिका अनुसार आदर्श गाउँपालिका ४ दशमलव ४, सायल गाउँपालिका ३ दशमलव ७, पुर्विचौकी गाउँपालिका ३ दशमलव ६, दिपायल सिलगढी नगरपालिका ३ दशमलव ४, शिखर नगरपालिका २ दशमलव ७, के.आई.सिंह गाउँपालिका २ दशमलव ३, बोगटान फुड्सिल गाउँपालिका १ दशमलव ८, जोरायल गाउँपालिका १ दशमलव ५ र बडीकेदार गाउँपालिका १ दशमलव २ प्रतिशत अङ्क रहेको छ ।

कार्यसम्पादन परीक्षणको उद्देश्य

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालय, शिक्षा निर्देशनालय, स्थानीय तहको शिक्षाको गुणस्तर र विद्यालय प्रधानाध्यापकको कार्यसम्पादन परीक्षण गर्ने गर्दछ । विद्यालयको कार्यसम्पादन परीक्षण विद्यालयको सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको लेखाजोखा गरी शिक्षण सिकाई प्रणालीमा सुधार गर्न प्रमाणमा आधारित पृष्ठपोषण प्रदान गर्न हो । लगानी, प्रक्रिया र उपलब्धिका सूचकको आधारमा विद्यालयको कार्यसम्पादन परीक्षण मार्फत वास्तविक अवस्था पहिचान गरी मन्त्रालय र सरोकारवालालाई पृष्ठपोषण गर्नु यसको मुख्य उद्देश्य हो ।
विद्यालयको कार्यसम्पादनमा तीन तहका सरकार, समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको भूमिका रहेको हुन्छ । विद्यालयमा तोकिएको जिम्मेवारी के कसरी निर्वाह भएको छ ?, विद्यालयले बालबालिकालाई तोकिएको ज्ञान, सिप र अभिवृत्तिको विकास गराई राष्ट्र निर्माणको लागि आवश्यक मानव संसाधन विकास गर्न सकेको छ की छैन ? जस्ता विषयमा विद्यालय कार्यसम्पादन परीक्षणले वास्तविकता नियाल्ने गर्दछ ।

विद्यालय कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया र उपलब्धि क्षेत्र अन्तरगत विभिन्न कार्यकलापको प्रभावकारिता र तीनको परीक्षणको मूल्याङ्कन गर्ने गरिन्छ । सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण मार्गदर्शन, २०८१ मा उल्लेख भए अनुसार लगानी अन्तरगत विद्यालयको भौतिक संरचना, शिक्षण, मानव संसाधन र स्थायित्व तथा समुदायको सहभागिता र लगानी रहेका छन् । प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन, सह तथा अतिरिक्त क्रियाकलाप पर्दछन् । त्यस्तै उपलब्धि अन्तरगत विद्यार्थी नियमितता, कक्षा दोहर्‍याउने  तथा छाड्ने दर, सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि तथा शिक्षकको पेसागत सन्तुष्टि रहेका छन् ।

Shaileshwori
Loading...