
३० असार, डोटी । एउटा सानो गोठ, होचो अनि अध्याँरो, झ्याल छैन, ढोका पनि गतिलो छैन, गोठको एउटा कुनामा एउटा मान्छे, । नाईलनको रस्सीले खुट्टा बाँधिएको छ, काठको एउटा फल्याक, एउटा कम्मल, त्यहीमाथी बस्छ, आ….आ… उ…..उ.. आवाज निकाल्छ अनि आफै तालि वजाउँछ । जे भेटायो मुखमा हाल्छ, चपाउँछ, घरी थुक्छ, घरी निल्छ । यसरीनै नै चल्दैछ २६ बर्षीय एक युवाको दिनचर्या ।
डोटीको जोरायल गाउँपालिका–५, पातली गाउँका ईश्वर पातलीको अवस्था हो यो । जन्मदैदेखि मानसिक स्वास्थ्य समस्या देखिएका ईश्वर १२ बर्षको उमेरदेखि गोठमा बाँधिएका छन् । ‘जन्मदानै यस्तै जन्मियो, बोल्न पनि सक्दैन, कान पनि कमै सुन्छ, कुनै चेत पनि छैन’ ईश्वरका बुवा लालवहादुर पातली भन्छन् ‘सानो छँदा त च्यापेर राख्न सकिन्थ्यो तर ठुलो हुँदै गएपछि हामीले सम्हाल्न नसक्ने भयौं, त्यसैले बाँधेरै राख्नु प¥यो ।’


लालवहादुरका सात छोराछोरीमध्ये दोश्रो सन्तान हुन् ईश्वर । दुर्गम गाउँको गरीव परिवार, छोराको आगमनमा खुव खुशी भएको थियो । छोरो हुर्कदै जाँदा थाह भयो, मानसिक स्वास्थ्य समस्या छ भन्ने । खेती किसानी गरेर गुजरा चलाउने लालवहादुर दम्पत्तिले सुरुका दिनहरुमा त आफु जहाँ गयो उतै लैजाने गर्थे ईश्वरलाई, तर ठुलो हुँदै गएपछि उनी भाग्ने, बिगार गर्ने भएपछि बाँधेरै राख्नु प¥यो । मलिन स्वरमा लालवहादुर भन्छन् ‘आफ्नै छोरालाई गाईबस्तुझैँ गोठमा बाँध्ने रहर त कसलाई पो होला र !’
केही समय ईश्वरलाई घरभित्र थुनेर पनि लालवहादुर दम्पत्तिले, तर घरभित्रका भाँडा फुटाईदिने, ढोका फुटाईदिने, आथ्रो खनिदिने गर्न थालेपछि गोठमा बाँध्न सुरु गरे । उनलाई मानसिक स्वास्थ्य सम्वन्धी उपचार हुन्छ भन्ने कुरा पनि जानकारी थिएन सुरुका दिनहरुमा । धेरै समयपछि उनले थाह त पाए तर उपचार गर्न खर्च जुटाउन सकेनन् । त्यसैले लामो समयदेखि ईश्वरको साथी त्यही गोठ र त्यही नाईलनको रस्सी भयो ।
‘यसले आङमै दिसापिसाप गर्छ, दिसापिसाव भएको थाहै पाउदैन, हामीले सफा गरिदिनु पर्छ’ लालवहादुरले भने ‘कहिले मैले सफा गर्छु, कहिले यसको आमाले ।’ आङमै दिसापिसाप गर्ने भएका कारण पनि उनलाई अलग्गै राख्नु पर्ने अवस्था आएको लालवहादुर वताउँछन् । थालमा खाना राखिदियो भने दुवै हातले खान्छन् ईश्वरले । ‘पेट भरियो भने थाल छेउमा राखेर चुपचाप बस्छ, खाना पुगेन भने थाल बजाईराख्छ’ लालवहादुर थप्छन् ‘थाल बजायो भने खाना थप्नु पर्छ भन्ने बुझ्नु प¥यो ।’
लालवहादुरले गत बर्ष जिल्ला सदरमुकाम ल्याएर राष्ट्रिय परिचय पत्र, नागरिकता र अपाङ्गता परिपय पत्र वनाईदिएका छन् ईश्वरको । अपाङ्गता परिचय पत्रको आधारमा उनले सामाजिक सुरक्षा भत्ता त पाउन थालेका छन् तर त्यो पैसाले उपचार सम्भव छैन ।
आफ्नो उमेरमा त जसो तसो स्याहार गरे लालवहादुर दम्पत्तिले, अव कसले ईश्वरको स्याहार गरिदेला भन्ने चिन्ता छ उनीहरुलाई । ‘म ६२ बर्षको भईसके, श्रीमती (गंगादेवी) लाई पनि ५५ बर्ष भईसक्यो’ उनी भन्छन् ‘अव त दिसापिसाप सफा गर्न पनि धौ धौ हुन् थाल्यो ।’ उनी छोराको उपचारका लगि सहारा खोज्दैछन् । तर, हालसम्म कसैलाई पनि सहयोग माग्न नसकेको उनी वताउँछन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन, २०७४ को दफा २(ख) ले मानसिक समस्या भएका व्यक्तिहरुलाई पनि अपाङ्ग मानेको छ । सोही ऐनको दफा ३५ मा सरकारले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक अस्पताल वा स्वास्थ्य केन्द्रमा राखी उपचार गराउने व्यवस्था मिलाउने र निजलाई औषधी तथा परामर्श निःशुल्क उपलव्ध गराउने भन्ने व्यवस्था गरेको छ । तर ईश्वरलाई भने यो कानुनले पनि छोएन ।
